Monday, March 10, 2008

माओवादी र एमालेको दम्भको कारण वाम तालमेल हुन सक्दैन : शेरचन

जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले वाम तालमेलको अवस्था नरहेको बताउनुभएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहांले नेकपा एमाले र नेकपा माओवादीको दम्भले वाम तालमेल हुननसकेको आरोप लागउनुभयो ।

'वाम तालमेल हुने अवस्था रहेन,' शेरचनले भन्नुभयो,'एमाले र माओवादीले दम्भ देखाउनाले तालमेल हुनसकेन ।' केन्द्रीय स्तरमा तालमेल हुननसकेको र स्थानीय स्तरमा भएपनि अन्र्तघात हुनसक्ने उहांको ठम्याई थियो । विगतमा आफैमाथि वाम दलबाट अन्र्तघात भएको स्मरण गराउदै संविधान सभा निर्वाचनमा पनि त्यस्तो सम्भावना दोहोरिनसक्ने उहांको आशंका थियो । तालमेलबाट पन्छिएर प्रमुख दलहरुले प्रतिगामीलाई फाइदा पुर्�याएको उहांको आरोप थियो ।
कार्यक्रममा शेरचनले राष्ट्रपति र प्रधानमन्त्री दुवै प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएर आउनुपर्ने प्रावधानलाई जनमोर्चाले उठान गरेको बताउनुभयो ।

नेकपा एमालेका प्रवक्ता रघुजी पन्तले नेकपा माओवादीले आफ्नै तागतले १० सिट पनि जित्न नसक्ने दाबी गर्दै केन्द्रीय स्तरमा चुनावी तालमेल हुनैनसक्ने बताउनुभयो । माओवादीले उपत्यकालगायत एमालेको पकड भएको स्थानमा पूरा गर्नैनसक्ने गरी सिट दाबी गरेको खुलासा गर्नुभयो । 'उपत्यकामा पांच लाख माओवादी समर्थक छन् भन्दै धेरै सिट दाबी भएपछि हामी पन्छिएका हौं,'उहांले भन्नुभयो,'माओवादीले आफ्नै तागतबाट चुनाव जितेर देखाओस् ।'

माओवादी अध्यक्ष प्रचण्डलाई हराउनुहुन्छ भन्ने प्रश्नमा उहांले भन्नुभयो,'हामी कसैलाई हराउदै छैनौं, सानु श्रेष्ठलाई जिताउदैछौं ।' विगतमा जस्तो सांसद किनबेचको खेल हुननदिन आफूहरुले प्रधानमन्त्रीलाई जनताको प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिएर आउने गरी घोषणापत्रमा उल्लेख गरेको बताउनुभयो ।

नेकपा माओवादीका केन्द्रीय सदस्य दीनानाथ शर्माले चुनावी तालमेल नभएपनि आफूहरुले बहुमत ल्याउने दाबी गर्नुभयो । आफूहरु अन्तिम समयसम्म तालमेलका लागि गृहकार्यमा लाग्ने बताउदै भन्नुभयो,'एमालेले २०५६ सालको संगठन जिवित छ भनी दम्भ नराखे हुन्छ । उसका धेरै नेता कार्यकर्ता हाम्रो पक्षमा आइसकेका छन्, हामी बहुमत ल्याउछौं ।' एमालेप्रति निकै कडा रुपमा प्रस्तुत हुनुभएका उहांले दम्भका कारण एमालेले पराजय भोग्नुपर्ने दाबी गर्नुभयो ।

लोकतान्त्रिक गणतन्त्रका पक्षधरलाई जिताउनुपर्छ भनेर तालमेलको कुरा उठाएको बताउदै भन्नुभयो,'हाम्रो सदाशयतालाई कमजोरी ठान्ने भूल भइरहेछ ।' आफूहरुले जनमोर्चालगायत अन्य वामसंग तालमेलका लागि चालेको कदम सकारात्मक रहेको बताउनुभयो । एमालेमा अझै संसदीय घर्राको ह्याङ जिवित रहेको आरोप लगाउनुभयो । कांग्रेस र एमालेले प्रधानमन्त्रीय पद्धतीको कुरा गर्नुलाई राजा राख्ने खेलका रुपमा आशंका गर्ने ठाउं रहेको शर्माको भनाई थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको प्रधानमन्त्रीय पद्धतीमा जानेगरी घोषणापत्र सार्वजनिक हुनलागेको खुलासा गर्नुभयो । आगामी बुधबार सार्वजनिक हुने घोषणापत्रमा राष्ट्रपति सेरेमोनियल रुपमा रहने र कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहित रहने व्यवस्था गरिएको उहांको भनाई थियो । 'कांग्रेस कार्यकारिणी प्रधानमन्त्रीमा रहने पद्धतीको पक्षमा छ ,' महतले भन्नुभयो,'अहिलेनै कस्तो संघ हुनेबारेको टुंगो जनतालाई गर्न दिने गरी घोषणापत्र तयार हुदैछ ।' आफूहरु साम्यवादी मोहमा रहेका दलहरुको भन्दा पृथक यथार्थपरक रुपमा प्रस्तुत हुने बताउनुभयो । आफुहरु पपुलर नाराको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । कांग्रेस कसैसंग तालमेल नगरी चुनावमा होमिने बताउनुभयो ।