Monday, November 24, 2008

नेकपा माओवादीभित्रको विवाद

नेकपा माओवादीभित्रको विवाद सारतìव र समाधान
प्रकाश

१. नेकपा (माओवादी) भित्र चलिरहेको छलफल, बहस, अन्तरसङ्घर्ष र त्यसलाई निकास दिन आयोजित राष्ट्रिय भेलाप्रति यतिबेला नेपाली कम्युनिष्ट आन्दोलन र सिङ्गो मुलुकको ध्यान केन्दि्रत भइरहेको छ । त्यति मात्र होइन, विश्वका क्रान्तिकारी एवं मुक्तिकामी शक्तिहरू एवं जनता र साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूसमेत आ-आˆनो कोणबाट यसप्रति कुनै न कुनै रूपमा ध्यानाकषिर्त भएका छन् । नेपालको वर्तमान शान्ति स्थापना र संविधान निर्माणको प्रक्रिया, नेपाली क्रान्ति-प्रक्रिया तथा नेपाल र नेपाली जनताको भाग्य एवं भविष्यलाई नेकपा -माओवादी) भित्रको बहस तथा निर्णयले अत्यन्त ठूलो प्रभाव पार्ने भएकै कारणले यसले यो स्तरको गम्भीर महत्त्व पाएको हो भन्ने कुरा स्पष्टै छ ।
वास्तवमा नेकपा -माओवादी) भित्रको अहिलेको बहस अत्यन्त स्वाभाविक छ । किनकि माओवादीको चुङवाङ बैठकले निर्धारित गरेको तात्कालिक राजनीतिक लाइन वा कार्यनीति मूलतः क्रियान्वयन भइसकेको छ । चुङवाङ बैठकको कार्यनीतिक लाइनले अहिलेका काम-कार्वाहीलाई एक हदसम्म मार्गनिर्देश गरिरहेको भए पनि यो पर्याप्त छैन र अहिले एकप्रकारले कार्यनीतिक लाइनको रिक्तताको स्थिति विद्यमान रहेको कुरा स्पष्ट छ । त्यसैले वर्तमान परिस्थितिले माग गरेको नयाँ ठोस कार्यनीतिको निर्धारण अपरिहार्य भइसकेको छ । त्यसमाथि पनि नेपाली क्रान्ति-प्रक्रिया अहिले जुन विन्दुमा पुगेको छ, त्यसले के कुरा पनि स्पष्ट पार्दै लगेको छ भने तात्कालिक कार्यनीति र क्रान्तिकारी रणनीतिको बीचमा अत्यन्त घनिष्ट सम्बन्ध रहनेछ । रणनीति नै तात्कालिक कार्यनीतिमा बदलिने वा अन्तिम कार्यनीति क्रियान्वयन गरेर रणनीति पूरा गर्ने कुरा निकट भविष्यकै विषय बन्ने सम्भावना प्रबल बन्दै गएबाट यो स्थिति देखापरेको हो । त्यसैले क्रान्तिको कोणबाट यतिबेलाको कार्यनीतिको असाधारण महत्त्व रहेको छ । क्रान्तिको सफलता, असफलता र भविष्यसँग अत्यन्त घनिष्ट रूपले जोडिएको यस्तो असाधारण महìवको कार्यनीति निर्धारणको निम्ति माओवादीभित्र यो स्तरको बहस चल्नु स्वाभाविक मात्र होइन, अनिवार्य थियो । त्यसैले यो छलफल-बहसले समग्रमा नेपाली कम्युनिष्ट आन्दोलन, क्रान्ति र जनआन्दोलन २०६२/६३ का लक्ष्य एवं निदेशन पूरा गर्ने प्रक्रियामा सकारात्मक योगदान पुर्‍याउनेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।
यसै सन्दर्भमा माओवादीको नेतृत्वपङ्ति अन्तरपार्टी सङ्घर्षलाई स्वस्थ एवं मैत्रीपूर्ण ढङ्गले सञ्चालन गर्न, एकता-सङ्घर्ष-रुपान्तरणको प्रक्रियाद्वारा पार्टीलाई एकढिक्को बनाउन र सम्पूर्ण पार्टी पङ्तिलाई उत्साहसाथ क्रियाशील हुने स्थितिमा पुर्‍याउन भने यथेष्ट मात्रामा गम्भीर एवं सचेत बन्नुपर्ने आवश्यकता छ ।
२. माओवादीभित्र अहिले चलिरहेको छलफल-बहसलाई ठीक ढङ्गले बुझ्न र त्यसलाई सही दिशामा निकास दिन नेपाली क्रान्तिको रणनीति, क्रान्तिको कार्यदिशा र पछिल्लो नीति एवं त्यस आधारमा भएको बाह्रबुँदे समझदारीदेखि आजसम्मका घटनाक्रमको विकास प्रक्रियालाई बुझ्नु जरुरी हुन्छ ।
-क) नेपाली समाज लामो समयदेखि सामन्तवाद र साम्राज्यवाद-विस्तारवाद विरोधी पुँजीवादी जनवादी क्रान्तिको चरण र प्रक्रियामा छ । वर्तमान युगमा पुँजीवादी क्रान्तिको आदर्श मोडेल नयाँ जनवाद हो । नयाँ जनवादी क्रान्ति मूलतः पुँजीवादी जनवादी क्रान्ति नै भएकोले यसको एउटा मुख्य कार्यभार सामन्तवाद र साम्राज्यवाद-विस्तारवादको शोषण उत्पीडनलाई अन्त्य गरी पूर्ण स्वाधीन, जनतान्त्रिक र समृद्ध एवं समुन्नत नेपालको निर्माण गर्नु हो ।
तर नयाँ जनवादमा यो मुख्य कार्यभारसहित अर्काे विशेषता पनि जोडिएको हुन्छ, सर्वहारा वर्गको नेतृत्व र समाजवादमा शान्तिपूर्ण सङ्क्रमण । यतिबेला नेपाली पुँजीवादी जनवादी क्रान्ति-प्रक्रिया तीब्रतासाथ अघि बढिरहेको भए पनि पूर्ण भइसकेको छैन । पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने प्रक्रिया तीब्रतासाथ अघि बढिरहेको तर पूर्ण नभइसकेको अहिलेको स्थितिमा सर्वहारा क्रान्तिकारीहरुले त्यसलाई नयाँ जनवादी क्रान्तिको रूपमा पूर्णता दिन खोज्नु स्वाभाविक हुन्छ । त्यसैले अहिले पनि नेपाली क्रान्तिको रणनीति नयाँ जनवादी क्रान्ति र रणनीतिक कार्यक्रम नयाँ जनवाद नै रहिरहेको छ ।
-ख) कुनै पनि देशका क्रान्तिकारीहरूले आˆनो देशमा क्रान्ति सम्पन्न गर्न क्रान्तिको मौलिक बाटो वा कार्यदिशा तय गर्नुपर्ने हुन्छ । त्यसै आवश्यकतालाई आत्मसात् गर्दै नेकपा -एकताकेन्द्र-मसाल) र नेकपा -माओवादी) ले नेपालको विशिष्टतामा जनयुद्ध र सशस्त्र विद्रोहको रणकौशललाई संयोजन गर्दै अन्त्यमा सशस्त्र जनविद्रोहको विकास गरी क्रान्ति सम्पन्न गर्ने कार्यदिशा तय गरेको हो । यो कार्यदिशा क्रियान्वयनको प्रक्रिया अघि बढ्यो र बढिरहेको छ । तर सशस्त्र जनविद्रोहको विन्दुसम्म पुग्न सकेको छैन र नयाँ जनवादी क्रान्ति पनि सम्पन्न हुनसकेको छैन । त्यसैले सामान्यतः कार्यदिशा क्रियान्वयनको कोणबाट हेर्दा जनविद्रोहको विकासद्वारा क्रान्ति सम्पन्न गर्नु नै क्रान्तिकारीहरूले पूरा गर्न बाँकी रहेको कार्यभार देखिन आउँछ ।
-ग) यहाँनेर विचारणीय प्रश्न के हो भने कार्यदिशा क्रियान्वयन प्रक्रियालाई सिर्जनात्मक ढङ्गले मात्र अघि बढाउन सकिन्छ र त्यसरी मात्र क्रान्ति सम्पन्न गर्न सकिन्छ । कार्यदिशा क्रियान्वयनको प्रक्रियालाई सरल सूत्रका रूपमा लिने हो भने वार्ता र अग्रगामी राजनीतिक निकासको प्रक्रियाभित्रै प्रवेश नगरी जनयुद्धलाई सरासर अघि बढाएर सशस्त्र जनविद्रोहद्वारा केन्द्रीय सत्ता कब्जा गरी क्रान्ति सम्पन्न गर्ने दिशामा जानुपर्दथ्यो । तत्काल त्यो दिशामा जानु जोखिमपूर्ण र क्षतिजनक हुने देखिएकाले नै कार्यनीतिमा परिवर्तन ९एयष्अिथ कजषत० गरी बाह्रबुँदे समझदारी हुँदै अहिलेको विन्दुसम्म आइपुगेको हो । अहिले नेपाली क्रान्ति-प्रक्रिया आˆनै मौलिकतामा जनयुद्ध, सशस्त्र सङ्घर्ष गरिरहेको र संसद्भित्रका शक्तिहरूबीचको वार्ता एवं मोर्चाबन्दी, बाह्रबुँदे समझदारीका आधारमा 'वसन्त उभार'को रूपमा ऐतिहासिक जनआन्दोलनको विकास, शान्तिवार्ता, संविधानसभाको निर्वाचन, गणतन्त्रको क्रियान्वयन र सर्वहारावर्गीय क्रान्तिकारी शक्तिहरूको नेतृत्वमा सरकार गठनको विन्दुसम्म पुगेको छ । सामन्ती राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएबाट एक अर्थमा युगान्तकारी परिवर्तन भइसकेको छ । तर क्रान्ति पूरा भएको छैन ।
यसस्थितिमा क्रान्तिकारीहरूले एकातिर क्रान्तिकारी ध्येय-उद्देश्यबाट विचलन नभई क्रान्तिलाई नै केन्द्रमा राखेर अघि बढ्न सक्नु परेको छ । अर्काेतिर, मौलिक ढङ्गले अघि बढिरहेको क्रान्ति-प्रक्रियालाई तर्कसम्मत रूपमा सिर्जनात्मकतासाथ आमजनसमुदायलाई गोलबन्द गर्ने गरी अघि बढाएर क्रान्ति सम्पन्न गर्न पनि त्यत्तिकै सचेत र स्पष्ट हुनुपरेको छ । माओवादीमा अहिले चलिरहेको बहस यसैको वरिपरि केन्दि्रत छ । अर्थात् क्रान्ति, क्रान्तिको बाटो र क्रान्तिको चरित्रको आदर्श मोडेल र मौलिक ढङ्गले अघि बढिरहेको नेपाली क्रान्ति-प्रक्रियाको जीवित व्यवहारको बीचबाट क्रान्तिलाई कसरी अघि बढाई सम्पन्न गर्ने भन्ने चुनौतीपूर्ण प्रश्नको वरिपरि अहिलेको बहस केन्दि्रत छ । क्रान्तिलाई केन्द्रविन्दुमा राखेर त्यसैको सेरोफेरोमा भइरहेको सकारात्मक बहसका रूपमा यसलाई लिइनुपर्दछ ।
३. -क) निश्चय पनि हिजो सशस्त्र सङ्घर्षलाई लगातार अघि बढाएर विद्रोहको विन्दुमा पुग्न नसकिएको कारणले अब जनविद्रोह हुन सक्तैन वा जनविद्रोहमा जानुहुन्न भन्ने कुरा होइन । क्रान्ति र क्रान्तिकारी कार्यदिशा क्रियान्वयनको कोणबाट यसरी सोच्नु गलत हुन्छ । राज्यसत्ता र राज्ययन्त्रबारेको इतिहास सिद्ध तथ्य र हाम्रो आˆनै अनुभवले पनि सीधै जनविद्रोहद्वारा पुरानो सत्ताको बनिबनाउ राज्ययन्त्रलाई ध्वंस गरी नयाँ राज्ययन्त्रसहित नयाँ जनवादी सत्ता वा जनगणतन्त्र स्थापनाको चाहना राख्नु वा त्यस्तो सम्भावना देखापरेमा त्यसलाई प्राथमिकता दिनु गलत हुँदैन । तर जसरी पहिले शान्ति-प्रक्रियामा नआई जनविद्रोहमा जानु सम्भव भएन, त्यसैगरी ऐतिहासिक जनआन्दोलन २०६२/६३ ले निर्देशित गरेअनुसार शान्ति-प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याई दिगो शान्ति स्थापना गर्ने र संविधानसभाबाट अग्रगामी नयाँ संविधान निर्माण गर्ने प्रक्रियामा अघि बढ्ने कार्य नगरी जनविद्रोहको विकास र जनगणतन्त्र स्थापनाको कार्यभार पूरा हुन सक्तैन । मनोगत ढङ्गले शान्ति-प्रक्रिया र संविधान निर्माणको कामबाट हठात् अलग हुने कार्यले क्रान्तिकारीहरूलाई जनताबाट अलग पार्नेछ । त्यसले क्रान्ति-प्रक्रिया, जनविद्रोहको विकास र जनगणतन्त्र स्थापनाको सम्भावनालाई नै कमजोर पार्नेछ ।
त्यसैले अहिलेको कार्यनीतिले शान्ति र नयाँ संविधानलाई नै मुख्य अङ्ग बनाउनुपर्दछ । तर त्यो निरपेक्ष शान्ति कायम गर्नु र संविधानसभाबाट जसरी हुन्छ एकथान संविधान बनाउने नीति होइन, हुनुहुँदैन । पहिलेको सहमति र सम्झौताका आधारमा नेपाली सेना र माओवादी जनसेनाको समायोजनसहित शान्ति-प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र संविधानसभाबाट सामन्तवाद, साम्राज्यवाद-विस्तारवाद विरोधी जनमुखी नयाँ संविधान बनाउने नीति र अडान क्रान्तिकारीहरूको हुनुपर्दछ । जनमुखी नयाँ संविधानले परम्परागत संसदीय गणतन्त्र होइन जनमुखी लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नेछ । त्यसको साथै राष्ट्रियताको प्रश्न पनि गम्भीर र संवेदनशील बन्दै गइरहेको छ । सेना समायोजन र जनमुखी नयाँ संविधान निर्माणको प्रक्रियामा देशभित्र मूलतः दलाल तथा नोकरशाही पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने शक्तिसँग मुख्य अन्तरविरोध रहने र साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूले पनि न्यायपूर्ण शान्ति र जनमुखी नयाँ संविधान निर्माणको प्रक्रियामा बाधा-अवरोध उत्पन्न गर्ने भूमिका खेल्ने भएकोले राष्ट्रियताको मुद्दा झन्-झन् गम्भीर बन्दै जाने स्पष्ट छ । तसर्थ राष्ट्रिय स्वाधीनता, शान्ति र जनमुखी नयाँ संविधान अहिलेको कार्यनीति हुनुपर्दछ । देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरूले सेना समायोजन गर्न, सामन्तवाद र साम्राज्यवादविरोधी सारतìवको जनमुखी नयाँ संविधान निर्माण गर्न दिएनन् भने त्यतिबेला नेपाली जनता निणर्ायक जनविद्रोह गरी जनगणतन्त्र स्थापना गर्ने बाटोमा जानेछन् र सर्वहारा क्रान्तिकारी शक्तिहरूले उक्त जनविद्रोहको नेतृत्व गर्नुपर्नेछ । त्यसैले राष्ट्रिय स्वाधीनता, शान्ति र जनमुखी नयाँ संविधानको तात्कालिक कार्यनीतिको प्रक्रियाबाट अघि बढेर मात्र जनविद्रोह र जनगणतन्त्रलाई कार्यनीतिको रूपमा -रणनीति पूरा गर्ने अन्तिम कार्यनीतिका रूपमा) विकास गर्ने सम्भावना पैदा हुन सक्नेछ । साथसाथै राष्ट्रिय स्वाधीनता, शान्ति र जनमुखी नयाँ संविधानको कार्यनीतिबाट अघि बढिरहँदा पनि सेना समायोजनसहितको शान्ति स्थापना वा जनमुखी नयाँ संविधान निर्माणमा निणर्ायक अवरोध उत्पन्न भएमा विद्रोहको प्रक्रियामा जानुपर्ने सम्भावनालाई ध्यान दिई त्यसले माग गर्ने सचेतनता र आवश्यक नीति-योजनालाई पनि अहिलेदेखि नै आत्मसात् गर्नुपर्ने हुन्छ ।
-ख) संविधानसभाबाट सामन्तवाद र साम्राज्यवादविरोधी जनमुखी नयाँ संविधान निर्माण हुन सक्ने स्थिति बन्यो भने त्यसप्रकारको संविधान निर्माण गरेर नै अघि बढ्नुपर्ने कुरा स्पष्ट छ । त्यसबेला त्यसप्रति पिठ्यूँ फर्काउनु ठूलो गल्ती हुन जानेछ । क्रान्तिकारीहरूले के कुरा बुझ्नु जरुरी छ भने हाम्राअगाडि तीनवटा विकल्प मात्र छन् । पहिलो, जनविद्रोहद्वारा जनगणतन्त्र स्थापना गरी क्रान्ति सम्पन्न गर्नु । त्यो क्रान्तिकारी शक्तिहरू र नेपाली जनताको पूर्ण विजय हुनेछ । दोस्रो, संविधानसभाबाट जनमुखी नयाँ संविधान निर्माण गर्नु र त्यसबाट अझ अघि बढेर क्रान्तिलाई पूर्णता दिनु । र, तेस्रो, क्रान्तिकारीहरूले पूर्ण विजय प्राप्त गर्न सकेनन्, संविधानसभाबाट नयाँ संविधान पनि बन्न सकेन भने त्यो रिक्ततामा प्रतिक्रान्तिकारी सैनिक निरङ्कुशतन्त्रको खतरा टड्कारो बन्न जानेछ । त्यति मात्र होइन, क्रान्तिकारी एवं वामपन्थी शक्तिहरूको नेतृत्वमा देशभक्त तथा गणतन्त्रवादी शक्तिहरूसमेतलाई गोलबन्द गरेर नेपाली समाजलाई जनआन्दोलनको लक्ष्य पूरा गर्ने गरी आमूल परिवर्तनको दिशामा लैजान सकिएन भने नेपाली जनताले ल्याएको यत्रो परिवर्तन एवं उपलब्धि गुम्न गई प्रतिक्रान्तिकारी अधिनायकवाद लादिने खतरा मात्र होइन, देशलाई विखण्डनमा लैजाने भारतीय विस्तारवाद तथा तिनका दलालहरूको षड्यन्त्र सफल हुनसक्ने खतरासमेत पैदा हुन सक्नेछ । त्यसैले हामीले कुनै पनि हालतमा देशलाई तेस्रो विकल्पमा जान दिनुहुँदैन ।
-ग) संविधानसभाबाट जनमुखी नयाँ संविधान बन्यो र जनमुखी लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो भने पुँजीवादी क्रान्ति सम्पन्न भएको हुन्छ कि हुँदैन, त्यसपछि नयाँ जनवाद वा समाजवादमा कसरी गइन्छ भन्ने प्रश्न कम्युनिष्ट क्रान्तिकारीहरूको बीचमा आज जबर्जस्त रूपमा उठिरहेको देखिन्छ । जनमुखी लोकतान्त्रिक गणतन्त्रले सामान्यतः सामन्तवाद-साम्राज्यवादविरोधी पुँजीवाद जनवादको कार्यक्रम लागू गर्नेछ र सारतìवमा त्यो पुँजीवादी जनवादी क्रान्ति नै हुनेछ । तर त्यो त्यत्तिकैमा नयाँ जनवाद भने भइहाल्ने छैन । किनभने त्यो नयाँ जनवादको एउटा मुख्य पक्षमात्र हो । नयाँ जनवादको अर्काे विशेषता हो, सर्वहारावर्गको नेतृत्वसहित समाजवादमा शान्तिपूर्ण सङ्क्रमण गर्ने चरित्र । त्यसैले क्रान्तिकारीहरूले जनमुखी लोकतान्त्रिक गणतन्त्रलाई सङ्क्रमणकालीन बनाउँदै त्यसलाई नयाँ जनवादमा -त्यसको अर्थ हो अन्ततः समाजवादमा) सङ्क्रमण गराउने प्रयत्न गर्नुपर्दछ । समाजवादमा शान्तिपूर्ण सङ्क्रमण गर्ने चरित्रसहितको पुँजीवादी जनवादको अभ्यास केही कालसम्म भयो भने त्यो पुँजीवादी जनवाद सारतफ्वमा नयाँ जनवाद हुनेछ र पछि त्यो समाजवादमा सङ्क्रमण गर्नेछ ।
हामीले जनमुखी लोकतान्त्रिक गणतन्त्रलाई सङ्क्रमणकालीन रूप दिन र अन्ततः नयाँ जनवाद, समाजवादमा सङ्क्रमण गराउन अधिकतम प्रयत्न गर्नुपर्ने आवश्यकता त छँदैछ, तर त्यो शान्तिपूर्ण रूपमा नै नयाँ जनवाद र समाजवादमा सङ्क्रमण हुनेछ भनी अहिलेदेखि नै पूण निश्चिन्त हुनु र त्यसैअनुसार सम्पूर्ण नीति, योजना बनाउनु भने गलत हुनेछ । त्यसले दक्षिणपन्थी विचलनको दिशामा लैजाने खतरा पैदा गर्न सक्नेछ ।
जनमुखी लोकतान्त्रिक गणतन्त्रलाई नयाँ जनवादमा सङ्क्रमण गराउन सकिएन भने पनि त्यसले सामन्तवाद र साम्राज्यवादविरोधी कार्यक्रम लागू गर्ने स्थितिमा नयाँ जनवादका रूपमा नभई अलि फरक ढङ्गले पुँजीवादी क्रान्ति सम्पन्न हुनेछ । त्यस अवस्थामा क्रान्तिको रणनीति परिवर्तन गरी निणर्ायक बल प्रयोगको बाटोबाट समाजवादी क्रान्ति सम्पन्न गर्ने दिशामा जानु आवश्यक हुन जानेछ ।
४. वर्तमान विन्दुबाट क्रान्ति सम्पन्न गर्ने प्रक्रियामा अघि बढ्न आवश्यक तात्कालिक राजनीतिक लाइन तय गर्ने सन्दर्भमा क्रान्तिकारीहरूले उपरोक्त दृष्टिविन्दुलाई आत्मसात् गर्नु जरुरी छ । माओवादीमा अहिले चलिरहेका छलफल र बहसले पनि यही दृष्टिविन्दुका आधारमा विश्लेषण एवं संश्लेषण गरेर अन्ततः सही निष्कर्ष निकाल्न सफलता प्राप्त गर्नेछ भन्ने आशा गर्न सकिन्छ ।
माओवादीभित्र चलिरहेको कार्यनीतिसम्बन्धी विवादमा सारतìवमा ताìिवक अन्तर देखिँदैन । प्रचण्डले पनि क्रान्तिको पूर्णता, नयाँ जनवाद वा जनगणतन्त्रको रणनीतिलाई परित्याग गर्नुभएको देखिन्न, किरणले पनि शान्ति-प्रक्रिया, संविधानसभा र संविधान निर्माण प्रक्रियाबाट अलग हुने कुरा गर्नुभएको देखिन्न । मात्र के देखिन्छ भने प्रचण्डले आफ्नो कार्यनीतिलाई स्पष्टसँग राख्नुभएको छ । किरणले प्रस्तुत गर्नुभएको कार्यनीतिमा केही अस्पष्टता र अन्यौल देखिन्छ । किनभने किरणले एकातिर शान्ति-प्रक्रियाबाट बाहिर निस्कने वा संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रियाबाट अलग भइहाल्ने कुरा गर्नुभएको छैन । अर्काेतिर, उहाँले त्यसको तात्कालिक विकल्पकै रूपमा जस्तो गरी जनविद्रोहको नीति अघि सार्नुभएको छ । यो अस्पष्टता हट्नासाथ दुवैले प्रस्तुत गर्नुभएको कार्यनीति मूलभूत रूपमा एकैठाउँमा आइपुग्ने छ । हो, यो अस्पष्टतालाई हटाउने क्रममा किरण शान्ति-प्रक्रिया, संविधानसभा र संविधान निर्माण प्रक्रियाबाट अहिले नै तत्काल बाहिर आउने नीति अवलम्बन गर्ने ठाउँमा पुग्नुभयो भनेचाहीँ जनविद्रोह र जनगणतन्त्रको रूपमा उहाँको छुट्टै कार्यनीतिको विकास हुनेछ । यद्यपि अहिले नै त्यो कार्यनीति प्रस्तुत गर्नु गलत हुनेछ । त्यस अवस्थामा माओवादीभित्र कार्यनीतिक दुईलाइन सङ्घर्ष चल्ने छ । तर किरण र उहाँको दस्तावेजलाई समर्थन गर्ने महत्त्वपूर्ण कमरेडहरूसमेत शान्ति स्थापना र संविधान निर्माणको प्रक्रियाबाट अहिल्यै अलग हुनु वा बाहिर आउनु गलत हुन्छ भन्ने निष्कर्षमै रहनुभएको देखिन्छ । त्यसैले यो कार्यनीतिसम्बन्धी विवादको विषय दुई लाइन सङ्घर्षको रूपमा विकसित हुने दिशामा नगएर मूलभूत एकत्व र एकताद्वारा समाधान हुने अपेक्षा गर्न सकिन्छ । यद्यपि कार्यनीतिसम्बन्धी विवाद अहिले यस रूपमा देखापर्नुले चिन्तन, सोच र बुझाइमा केही अन्तर अवश्य छन् भन्ने नै देखिन्छ । फेरि पनि राम्ररी छलफल र बहस हुने हो र अन्य आशङ्कालगायतका कतिपय कुरालाई अलग राखेर -त्यसलाई छुट्टै छलफलको विषय बनाएर) वस्तुनिष्ठ एवं क्रान्तिकारी कार्यनीतिक लाइनको निर्धारणमा मात्र केन्दि्रत हुने हो भने कार्यनीतिक विवाद एकतामा गएर नै हल हुन सक्नेछ । आजको आवश्यकता पनि त्यही नै हो ।
चिन्तन, सोच र बुझाइमा रहेका केही अन्तरका अतिरिक्त कतिपय व्यावहारिक पक्ष एवं आपसी आशङ्काले पनि अहिलेको अन्तरसङ्घर्षमा भूमिका खेलेको देखिन्छ । किरणलगायतका कमरेडहरूमा पार्टी क्रान्तिकारी ध्येय-उद्देश्य, रणनीति र सिद्धान्तबाट विचलित हुने त होइन, व्यावहारिक र सिर्जनात्मक हुने नाउँमा दक्षिणपन्थी सुधारवादी दिशा समात्न पुग्ने त होइन भन्ने चिन्ताले पिरोलेको कुरा सजिलै अनुभूत गर्न सकिन्छ । यसको साथै राष्ट्रियताका मुद्दामा पार्टी आˆना पूर्व-अडानमा दृढतापूर्वक टिक्न नसकी विस्तारै कमजोर हुँदै जान लागेको त होइन भन्ने चिन्ता पनि त्यहाँ देखिन्छ । यो चिन्ता र यसको वरिपरि भएका छलफलले पार्टी र पार्टी नेतृत्वलाई सचेत पार्न तथा सही दिशा दिन सकारात्मक योगदान नै पुर्‍याउने छ ।
यहाँनेर के पनि ध्यान दिनु आवश्यक छ भने समग्र कार्ययोजना ९ब्अतष्यल एबिल० मा नेतृत्वद्वारा प्रस्तुत गरिएको क्रान्तिकारी लाइनको ठोस एवं व्यावहारिक अभिव्यक्ति नदेख्नु, जनयुद्धकालदेखि सक्रिय हजारौँहजार बलिदानी कार्यकर्ताको भौतिक जीवनरक्षाको प्रश्नसमेत गम्भीर बन्दै जानु र साङ्गठनिक कार्ययोजनाको अभावमा उनीहरू कामविहीनजस्तै हुन पुग्नु, वरिष्ठ कमरेडहरूकै बीचमा पर्याप्त सरसल्लाह र छलफलको अभाव हुनु, कार्यपद्धति, कार्यशैली र व्यवहारले दूरी र आशङ्का बढाउने काम गर्नु, सरकारले अपेक्षाकृत प्रभावकारी ढङ्गले काम गर्न नसक्नु, सुविधाभोगी प्रवृत्ति बढ्दै जानु आदि कुराले पनि पार्टीभित्र विभिन्न कोणबाट असन्तुष्टि एवं निराशा उत्पन्न गरेको हुन सक्ने कुराप्रति पार्टी नेतृत्वले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता छ । यस्ता कुराले पनि अन्तरसङ्घर्षलाई प्रभावित पार्छन । अन्य कमरेडहरूले पनि समस्या जहाँ-जहाँ देखापरेका छन्, त्यहाँ-त्यहाँ दृढतापूर्वक सङ्घर्ष गरेर समाधान खोज्नुपर्दछ, जहाँ मतभेद छैन, त्यहाँ पनि मतभेद खडा गर्ने होइन भन्ने कुरामा ध्यान दिनु जरुरी छ ।
अन्त्यमा माओवादीको छलफल र बहस जहाँ केन्दि्रत भइरहेको छ, त्यसले माओवादीले अहिले पनि क्रान्तिलाई नै केन्द्रविन्दुमा राखिरहेको छ भन्ने कुरा स्पष्ट पारेको छ, यसले कम्युनिष्ट क्रान्तिकारीहरूलाई ऊर्जा नै थपेको छ । माओवादीले थप के पनि साबित गर्न सक्नुपरेको छ भने यो देशी-विदेशी प्रतिक्रियावादी तथा अवसरवादी शक्तिहरूले जेजस्तो चाहे पनि तिनीहरूले चाहेअनुसार होइन, आफ्नै ढङ्गले मौलिक एवं सिर्जनात्मक रूपमा क्रान्ति-प्रक्रियालाई तीब्रता प्रदान गरी क्रान्ति सम्पन्न गर्ने दिशामा अघि बढ्नेछ । आशा गरौँ, महान् सम्भावना र गम्भीर चुनौतीको यो संवेदनशील सङ्क्रमणकालीन मोडमा नेकपा -माओवादी)को राष्ट्रिय भेलाले सबै प्रकारका चुनौतीलाई सफलतापूर्वक चिर्दै क्रान्तिको महान् सम्भावनालाई पक्रन सही निर्णय लिनेछ ।
(लेखक नेकपा एकताकेन्द्र-मसालका महामन्त्री हुनुहुन्छ)

No comments: