Saturday, December 13, 2008

ल्याइँदै छ परिवर्तनकारी प्याकेज -- नारायणकाजी श्रेष्ठ 'प्रकाश'

2008-12-14,Sunday
नेकपा माओवादीजस्ता कम्युनिस्ट क्रान्तिकारीको अगुवाइको सरकारले गरेका काम-कारबाहीलाई कसरी मूल्यांकन गर्ने ? यसका नीति र दिशालाई कसरी विश्लेषण गर्ने ? यसका दशा र दिशा कति हदसम्म अग्रगामी, जनमुखी र आमूल परिवर्तनकारी छन् ? यस्ता ज्वलन्त प्रश्न यतिखेर आमरूपमा उठिरहेका छन् । निश्चित रूपमा हाम्रो पार्टी पनि सरकारमा सहभागी रहेकाले यो सरकारका सबैजसो काम-कारबाहीका बारेमा हामी पनि जवाफदेही हुनुपर्छ । त्यसैले सवाल उठ्छ- माओवादी नेतृत्वमा सञ्चालित गठबन्धन सरकार सफल कि असफल त ? यथार्थ कोट्याउने हो भने यस सरकारलाई सफल वा असफल भन्नु बेठीक मूल्यांकन हुनेछ । त्यसरी मूल्यांकन गर्नुभन्दा पनि सरकारको कामबाट सन्तुष्ट हुने ठाउँ छैनचाहिँ भन्न सकिन्छ । सरकारका काम-कारबाहीलाई समग्रतामा मूल्यांकन गर्दा सरकारले सकारात्मक दिशामा काम गर्ने तत्परता देखाएको छ । यसका काम-कारबाहीले जनमुखी एवं अग्रगामी दिशा समातेको देखिन्छ । यस सरकारबाट आमजनताले तत्कालै राहत दिने, शान्तिसुरक्षा प्रदान गर्ने, अचाक्ली बढ्दो महँगी नियन्त्रण गर्ने तथा सुस्ता र कालापानीजस्ता राष्ट्रियतासँग जोडिएका मामिला हल गर्ने आशा गरेका छन् । तर, सरकारले जनतालाई प्रत्यक्ष अनुभूति हुनेगरी काम गरेको देखिएन । शान्तिसुरक्षा, राहत र सुधार, महँगी नियन्त्रण, भ्रष्टाचारीमाथि कारबाही, सरकारी कार्यालय नियमित गराउन सरकार सफल हुन सकेको छैन । राष्ट्रियताको सवालमा पनि ठोस रूपमा केही गर्न सकिएको छैन । यसरी हेर्दा सरकारले सकारात्मक काम गर्न गम्भीर पहलकदमी गरेको अनुभूति हुन सकेको छैन । यो सर्वहारा वर्गको पार्टीको नेतृत्वमा बनेको सरकार हो, जहाँ कम्युनिस्टहरूको वर्चस्व रहेको छ । यसले जनमुखी र अग्रगामी दिशा दिने खालका, जनतालाई तत्कालै राहत दिने खालका काम-कारबाही छिटो-छरितो ढंगले गरेर व्यवहारमा देखाउन ढिलो भइरहेको छ । दसवर्षे जनयुद्ध लडेको पार्टीको नेतृत्वमा बनेको यो सरकारले जस्तो काम गर्नुपर्ने थियो, त्यस दिशातिर अघि बढेको अनुभूति भएको छैन । यसबीचमा प्रधानमन्त्री प्रचण्डबाट सरकार चलाउँदा देखिएका बाधा-अड्चनका कारण दुई महिनाभित्रै सरकार छाड्न सक्ने भनाइ सार्वजनिक भएको छ । एउटा कोणबाट हेर्दा जसरी पनि सरकारमा टाँसिएर नबस्ने आशयसहित आएको यो अभिव्यक्ति निश्चय नै सकारात्मक छ । अर्काे कोणबाट हेर्दा सरकारले अहिले त जनताको पक्षमा काम गर्न गम्भीर अग्रसरता देखाउने वेला आएको छ । जनताले सरकारको नेतृत्व गर्न संविधानसभामार्फत दिएको जिम्मेवारी प्रधानमन्त्री र सिंगो सरकारले पूरा गर्नुपर्छ । शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र नयाँ संविधान लेख्ने अभियानको नेतृत्व यो सरकारको मुख्य काम हो । यसका लागि सहज वातावरण बनाउन सरकारले भूमिका खेल्नुपर्छ । यस्तो भूमिका खेल्नुपर्नर्े वेलामा प्रधानमन्त्री प्रचण्डले सरकारबाट हट्ने धम्की दिनु उहाँकै अक्षमता होइन र भन्ने प्रश्न पनि उठेको छ । यस्ता भनाइलाई हामीले नकारात्मक कोणबाट मात्र होइन, सकारात्मक कोणबाट पनि हेर्नु जरुरी छ । यसलाई सकारात्मक कोणबाट हेर्दा देखिन्छ ः प्रधानमन्त्री प्रचण्ड स्वयम् पनि अहिले सरकारको काम-कारबाहीबाट असन्तुष्ट हुनुहुन्छ र उहाँ गम्भीर कदम चाल्ने तयारीमा हुनुहुन्छ । उहाँले कुनै गम्भीर कदम चाल्नुभएन भने त्यो गम्भीर दुःखको विषय हुन्छ । अब प्रश्न उठ्छ, यो सरकारको असफलताले वामपन्थी राजनीतिको धरातललाई नै कमजोर पार्छ कि पार्दैन ? निश्चय नै सरकार असफल भयो भने नेपालको वामपन्थी शक्तिमाथि नै नकारात्मक प्रभाव पर्छ, यो स्वतःसिद्ध तथ्य हो । सरकार सकारात्मक काम गर्ने दिशातिर अगाडि बढेको अवस्थामा कसैले सरकार ढाल्ने कसरत गरे भने कम्युनिस्ट क्रान्तिकारीहरू सरकारबाट बाहिरिनुपर्‍यो भने वामपन्थीहरूको पक्षमा जनमत झन् बढेर जान्छ । तर, जनता र मुलुकका पक्षमा परिवर्तनको अनुभूति दिनेगरी कार्यक्रम नल्याईकन सरकार ढल्यो भने जनताले धेरै चित्त नदुखाउने कटु स्थिति उत्पन्न हुन सक्छ । अहिलेको वस्तुगत धरातल हेर्दा सरकारका काम-कारबाहीको स्थितिचाहिँ कस्तो देखिन्छ त ? निःसन्देह, अहिले जनता बिस्तारै निराश हुने परिस्थिति सृजना हुन खोज्दै छ । त्यसअघि नै सरकारले गम्भीर बनेर सरकारले परिवर्तनकारी प्याकेज ल्याउनुपर्छ । उसले कार्यपद्धति र कार्यशैलीमा पनि आमूल परिवर्तन ल्याउनुपर्छ । मैले प्रधानमन्त्री प्रचण्डनिकट रहेर देखेको उहाँका काम हेरेको कारणले भन्न सक्छु ः सरकारले नयाँ कार्यक्रम ल्याउने सम्भावना छ । प्रधानमन्त्रीले मसँग पनि यसबारे गम्भीर छलफल गर्नुभएको छ, माओवादीका अरू वरिष्ठ नेतासँग पनि अन्तक्रिर्या भएको छ । सरकारले नयाँ कार्यक्रम ल्याउनेबारेमा उहाँहरू गम्भीर हुनुभएको मैले पछिल्ला दिनमा महसुस गरेको छु । मलाई लाग्छ, उहाँले केही प्रभावकारी कदम चाल्दै हुनुहुन्छ । राहत र सुधारको प्याकेज कार्यक्रम एक-दुई महिनाअगाडि नै ल्याउने भनिएको थियो । त्यो किन रोकियो, मलाई थाहा छैन । यतिखेर सत्तारुढ गठबन्धन दलकै बीचमा अलिअलि र सरकार र प्रतिपक्षका बीचमा अलि बेसी नै असमझदारी बढ्दै छ । सरकारमा रहेका र नरहेका पार्टीहरूले आपसमा गरेका सहमतिलाई नै फरक-फरक ढंगले प्रस्तुत गरिरहेका छन् । त्यति मात्र होइन, यहाँ त एउटै पार्टीभित्र फरक-फरक ढंगका अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् । सरकार र सरकारकोे जनमुखी र अग्रगामी काम-कारबाहीमा समस्या पैदा गरेको यस्ता असमझदारीलाई हल गर्नु जरुरी छ । (प्रकाश एकता केन्द्र मसालका महासचिव हुन्)

No comments: