Saturday, December 6, 2008

मन्त्रीको भाषण राम्रो
केदार शर्मा
केदार तिम्सिना

सैका कुरालाई मन्त्रीको भाषण जस्तो भन्यो भने वक्ताको अपमान हुन्छ। मन्त्रीको भाषण कर नपरी कसैले सुन्दैन। मन्त्रीहरू धेरै भाषण गर्छन् र कहिलेकाहीँ कोही मन्त्री राम्रो बोल्छन्। करमा परेर सुनेका तर सुनिसकेपछि आफ्नै धारणा फेर्न बाध्य बनाउने त्यस्ता घटना पनि हुन्छन्।

केही वर्षअघि लेखनाथ जयन्तीको कार्यक्रममा सहभागी हुन काठमाडौं, सोह्रखुट्टेस्थित लेखनाथ भवन पुगिसकेपछि मुख्य अतिथिमा अर्थमन्त्री महेश आचार्यलाई निम्त्याइएको देखेर दिक्क लागेको थियो। आयोजकहरूले टेलिभिजन प्रचारको लोभमा बोलाएका होलान् वा सीधै चाकरी गरेका होलान् भन्ने ठानेको थिएँ। तर अचम्म भयो, मन्त्रीले राम्रो बोले― एकदमै साहित्यिक, त्यो पनि लेखनाथका कविता गहिरो गरी बुझ्ेको हिसाबले। उनले लेखनाथका विभिन्न पुस्तकका कवितांशहरू कागज नहेरी छन्दमा (भाका नहाली भए पनि) र शुद्ध गरी वाचन गरे। साहित्याचार्यहरूको साहित्यिक जार्गनबाट त्यो प्रस्तुति मुक्त थियो। त्यस दिन मलाई एउटा सार्थक कार्यक्रममा जान पाएको अनुभव भयो।

त्यसको केही समयपछि त्यस्तै करले फँसेको थिएँ, भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाकक्षमा आयोजित मन्त्री नारायणसिंह पुनलाई निम्त्याइएको कार्यक्रममा। मैले जानेको पुनको परिचय सेनाका कर्णेल, हेलिकप्टर पाइलट, उड्डयन व्यवसायी, चैते-काङ्ग्रेस, समता पार्टीका नेता र राजाका मन्त्रीमा सीमित थियो। मा'वादीसित वार्ता गर्नमा देखिएको उनको अग्रसरतालाई पनि भित्रभित्र कसको इशारामा हो भन्ने सोचिएको बेला थियो।

तर मन्त्रीले राम्रो बोले। मन्त्री पुनले उपस्थित श्रोतालाई आफूले साँच्चै नै द्वन्द्वको अन्त्य चाहेको विश्वास दिलाउन सके। उनले ठूला धक्कु लगाएनन्। अरू राजनीतिक दलहरूलाई अपमान गरेनन्। सरकारी सेनाले समेत हराउन नसकेको मा'वादीको शक्तिलाई अस्वीकार गर्न मिल्दैन भन्ने आँटिलो कुरा गरे। तर यतिभन्दा सरकारको लाचारी पनि देखाएनन्। अफसोच, ती स्पष्टवक्ता र तर्कशील व्यक्तिको ९ फागुन २०६४ मा असामयिक निधन भयो।

केही दिनअघि मात्रको कुरा हो, अर्का एक मन्त्रीको भाषण सुन्नुपर्ने अवस्था फेरि आइपर्‍यो। काभ्रेको साँगामा नवनिर्मित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रको उद्घाटनको निम्तोमा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलबाट कीनोट सम्बोधन लेखिएको देख्दा अलि अनौठो लाग्यो। नयाँ गैरसरकारी संस्था पुनर्स्थापना केन्द्रले स्वास्थ्य मन्त्री र मन्त्रालयसित सम्बन्ध विस्तार गर्न उनलाई मुख्य वक्ता बनाएको होला, जनमोर्चाका यी नेताले संविधानसभादेखि नयाँ नेपालको स्वास्थ्य नीतिका बारेमा ठूल्ठूला गफ दिने भए अब जस्तो लाग्यो।

तर मन्त्री पोखरेलले गज्जब गरे। अलि लामो बोले, तर कुरा पुर्‍याएर बोले। स्वास्थ्य नीतिमा खासै वास्ता नगरिएको चोटपटक इन्जुरीको समस्यालाई उनले नेपालको एउटा प्रमुख स्वास्थ्य समस्याका रूपमा प्रस्तुत गरे। “एच.आई.भी/एड्स र बर्ड फ्लू जस्तो चर्चित र बहुप्रचारित नभए पनि समाजलाई चोटपटकले ठूलो असर पारेको छ”, उनले मन्त्रीको आसनबाट भने। आफ्नो पूरा भाषणभरि उनी चोटपटक र त्यसको स्याहार-उपचारकै परिधिमा बसे।

मन्त्रीले चोटपटकको रोकथाम, उद्धार, उपचार र पुनर्स्थापनाका कुरा गहकिलो गरी राखे। चोटपटक लाग्नसक्ने विभिन्न अवस्थाका कुरा खोटाङको आफ्नो गाउँका र आफैँले देखे-भोगेका प्रसङ्ग समेत उठाएर सुनाए। गरिबी र चोटपटकको आपसी सम्बन्ध केलाए। रूख र भीर चढेर घाँसदाउरा गर्नुपर्ने बाध्यता, त्यसमा महिलाहरूको अप्ठ्यारो पहिरनका कारण थपिने जोखिम, बस दुर्घटनाका बाक्लै घटनाहरू― लाग्यो उनले केही छुटाएनन्। सर्वत्र गाउँघरभर प्राथमिक उपचारको ज्ञान फैलाउनुपर्ने विचार राखे। दुर्घटनामा परेको बिरामीको उद्धारका क्रममा हुने झयाँगलझ्ुँगलबाट अवस्था झ्न् बिग्रिन सक्ने र डोको र उलिनकाठमा बोक्नुभन्दा स्ट्रेचरमा 'सार्नु उचित हुने जस्ता अत्यन्त व्यावहारिक कुरा पनि मन्त्रीले बताए।

एम्बुलेन्सहरूमा उपचार तथा उद्धारका सामग्री मात्र होइन, अक्सिजनसम्म राख्ने चलन नभएको र तिनको बिरामी 'सार्ने साधनको हिसाबले मात्र प्रयोग भएकोमा उनले दुःखमनाउ गरे। कोशी दुर्घटनाको सन्दर्भ जोडेर केटाकेटीमै पौडन सिकाउने हो भने धेरैको ज्यान बच्ने कुरा गरे, सडक दुर्घटनाको अत्यधिक चाप रोक्न मूल राजमार्गमा ट्राउमा केन्द्रहरू चाहिएको उल्लेख गरे। बीमा भएका सम्पन्न स्वदेशी र विदेशीहरूको हेलिकप्टरमा उद्धार हुने तर विपन्न बिरामीहरूले भीरपाखामै काल कुर्नुपर्ने नमीठो प्रसङ्ग पनि कोट्याए।

यी सब कुरा मुलुकको स्वास्थ्य मन्त्री भएको नाताले गिरिराजमणि पोखरेलको सरोकारको विषय थियो, र उनको प्रस्तुतिले सबैलाई झ्क्झ्क्यायो पनि। मन्त्री पोखरेलले कागज नहेरी बोलेको र निजी भावना र अनुभव पनि मिसाएको कारण प्रस्तुतिमा विश्वसनीयता थियो। एउटा मन्त्री विश्वसनीय हुनु भनेको सरकारी संरचनामा विश्वसनीयता थपिनु हो। एउटा नागरिकले खोज्ने पनि त्यही हो।

No comments: