माओवादीद्वारा नयां आधारमा एकताकालागि आह्वान
प्रचण्डले अहिलेसम्म भएका सम्पूर्ण सहमति र सम्झौताहरुको समीक्षा हुनुपर्ने बताएका छन्
नेपालमा राजनीतिक संकट गहिरिंदै गएको बेला नेकपा माओवादीले, उसकै शब्दमा, नयाँ आधारमा नयाँ एकता गर्नका लागि एउटा प्रस्ताव अघि सारेको छ।
केही दिन अघि नेकपा एमालेको सहयोगमा अन्तरिम संसदबाट समानुपातिक निर्वाचन प्रणाली र गणतन्त्र घोषणा प्रक्रिया संम्बन्धी प्रस्ताव सामान्य बहुमतले पारित गराउन सफल भएपछि माओवादीले त्यस्तो प्रस्ताव अघि सारेको हो।
माओवादीले "दलहरुको यथास्थितिवादी सोच" र राजतन्त्र जस्ता कुराहरुलाई समस्याहरुको कारण भएको दावी गरेका छन्।
समाधानकालागि माओवादीले विस्तृत राजनीतिक सम्मेलनको आयोजना, दलहरु बीच वार्ता र सहमति बनाउँदै तत्काल गणतन्त्र घोषणाको प्रस्ताव दोहोर्याएका छन्।
समीक्षा
राजधानीको एउटा तारे होटलको खचाखच भरिएको हलमा आयोजित एउटा अन्तर्क्रिया कार्यक्रममा सो अवधारणापत्र सार्वजनिक गरिएको थियो।
कार्यक्रमको शुरुमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले चुनाव हुन नसकीरहेको अहिलेको अवस्थामा १२ बुँदे सहमतिदेखि अहिलेसम्म भएका सम्पूर्ण सहमति र सम्झौताहरुको समीक्षा हुनुपर्ने बताए।
उनले भने, “हामीले संविधानसभाको चुनाव जेठमा किन हुन सकेन, असारमा किन हुन सकेन र मङ्सिरमा किन हुन सकेन, त्यसको मुख्य कारण के हो खोज्ने बेला भएको छ।”
प्रचण्डले भने, “त्यसको आधारमामात्रै चुनावका लागि आवश्यक तयारीहरु गर्नुपर्ने हुन्छ।”
छिट्टै चुनाव गराउन सरकारलाई दबाब दिइरहेका विदेशी देशहरुलाईसमेत कटाक्ष गर्दै प्रचण्डले भने, “समानुपातिक चुनावका लागि सबैभन्दा महत्वपूर्ण कुरा सुरक्षाको वातावरण हो।"
आफ्नो पार्टीका केही वरिष्ठ सदस्यहरु संगै बसेका प्रचण्डले माओवादी लडाकुहरुलाई नेपाली सेना सरह व्यवहार र सुविधा हुनु पर्ने माग पनि गरे।
तर अन्तरक्रियामा बोल्ने नेपाली कांग्रेस र एमालेका नेताहरु माओवादी प्रस्ताव संग शत प्रतिशत सहमत देखिएनन।
फरक मत
कांग्रेसका रामवरण यादवले तराइमा हतियारको खेलकालागि माओवादी दर्शन कारक रहेको बताए।
उनले राजतन्त्रको विषयमा फैसला संविधानसभाको पहिलो बैठकले गर्नु पर्ने र मिश्रित चुनाव प्रणाली कायम हुनु पर्ने आफ्नो पार्टीको अडान दोहोर्याए।
एमालेका रघुजी पन्तले विशेष अधिवेशनले माओवादीको समानुपातिक प्रणाली र एमालेको गणतन्त्र घोषणा प्रक्रिया निर्धारण गरेको बताउँदै निर्वाचनले प्राथमिकता पाउनु पर्ने प्रस्तावको मर्म रहेको जिकिर गरे।
नागरिक समाजका सदस्यहरुले चाहिं आगामी मंगसिर ६ गतेका लागि निर्धारित चुनाव स्थगित भएपछि देशमा संविधान, संसद र सरकार सबैले वैधता गुमाउने कुरामा चिन्ता व्यक्त गरेका थिए।
पूर्व सभामुख दमननाथ ढुङ्गानाले सात दल मिलेर मंगसिर ५ गते नै नयाँ वैधताको खोजीमा जुट्न सुझाव दिए।
उनले माओवादी नेताहरुलाई भने, “तपाईंहरु बन्दुक बिसाएर आएकाहरुले खोजे जस्तो प्रजातन्त्रको परिभाषा यहाँ पाइन्न। अब तपाइहरु मिल्नुहोस्।”
माओवादी नेताहरुले पनि आफुहरुले सहमति खोज्ने प्रयास जारी राख्ने बताएका थिए।
No comments:
Post a Comment